प्रधानमन्त्री बालेन शाह र एडिबी अध्यक्ष कान्डाबीच भेटवार्ता: सुशासन, आर्थिक वृद्धि र स्वच्छ ऊर्जा विकासमा सहकार्य गर्ने प्रतिबद्धता

छानबिन न्यूज
पाठक संख्या 22
1 Min Read
Oplus_16908288

२३ असार,काठमाण्डाैं ।  काठमाडौंमा प्रधानमन्त्री बालेन शाह र एसियाली विकास बैंक (एडिबी)का अध्यक्ष मासातो कान्डाबीच भएको शिष्टाचार भेटवार्तामा वर्तमान सरकारको प्राथमिकता सुशासन प्रवर्द्धन, तीव्र आर्थिक वृद्धि, रोजगारी सृजना र गुणस्तरीय सार्वजनिक सेवा प्रवाहमा रहेको विषयमा छलफल भएको छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार भेटका क्रममा प्रधानमन्त्री शाहले सार्वजनिक लगानीको प्रभावकारिता बढाउने, निजी क्षेत्रको नेतृत्वमा आर्थिक वृद्धि गर्ने, ऊर्जा विकासलाई तीव्रता दिने र पूर्वाधारको डिजिटल रूपान्तरण गर्नेबारे जानकारी गराउँदै नेपालको दीर्घकालीन ऊर्जा सुरक्षाका लागि महत्त्वपूर्ण मानिएको ‘दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना’ को वित्तीय व्यवस्थापन प्रक्रिया यथाशीघ्र सुरु गरिदिन जोड दिनुभएको थियो ।

नेपालमा हाल करिब ४ अर्ब २० करोड अमेरिकी डलर बराबरको खुद पोर्टफोलियोसहित ३१ वटा परियोजना सञ्चालन गरिरहेको एडिबीले सन् २०२६ मा ‘पोलिसी बेस्ड लेन्डिङ’ अन्तर्गत १५ करोड डलरको सहायता कार्यक्रम राखेको परिप्रेक्ष्यमा, अध्यक्ष कान्डाले नेपालको डिजिटल अर्थतन्त्र र पूर्वाधार सुदृढीकरणमा बैंकको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया
शेयर