बारासहित देशका ११ जिल्लामा बर्ड फ्लु तीव्र: ५ लाखभन्दा बढी कुखुरा नष्ट, सर्वसाधारणमा त्रास

छानबिन न्यूज
पाठक संख्या 134
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

११ असार,बारा ।  देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण तीव्र रूपमा फैलिएपछि सर्वसाधारणमा कुखुराको मासु र अण्डा सेवनबारे त्रास र अन्योल बढेको छ।

पशु सेवा विभागका अनुसार विशेष गरी बारा, महोत्तरी, झापा, सुनसरी, मोरङ, चितवन, नवलपरासी, काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ, जसमध्ये कोशी प्रदेशमा भने पछिल्लो एक महिनाभित्र संक्रमण नियन्त्रणमा आइसकेको छ।

प्रयोगशाला परीक्षणमा बर्ड फ्लुका एच–फाइभ एन–वान, एच–नाइन एन–टु तथा न्युक्यासल रोगका भाइरस सक्रिय देखिएपछि संक्रमण नियन्त्रणका लागि हालसम्म ५ लाख ६९ हजार ८५८ वटा कुखुरा, ९ लाख ८९ हजार ३१३ वटा अण्डा तथा १ लाख ९५ हजार ४८५ किलोग्राम दाना नष्ट गरिसकिएको छ।

संक्रमण थप फैलिन नदिन सरकारले जिल्ला प्रशासन कार्यालय, स्थानीय तह र प्रदेश सरकारसँग समन्वय गरी संक्रमित फार्मका सम्पूर्ण कुखुरा तत्काल नष्ट गरेर सुरक्षित रूपमा गाड्ने, प्रयोगशालाहरूलाई बिदाको दिनसमेत सञ्चालन गरेर परीक्षणको दायरा बढाउने, सीमा नाका तथा क्वारेन्टाइन क्षेत्रमा निगरानी बढाउने र कुखुरा, अण्डा तथा दानाको ओसारपसारमा कडाइ गर्ने काम गरिरहेको छ।

साथै, अवैध रूपमा हुने पशुपन्छीको बिक्री–वितरण रोक्न सुरक्षा निकायसँगको सहकार्यमा विशेष अभियानसमेत सञ्चालन भइरहेको विभागका डा. उपाध्यायले जानकारी दिएका छन्।

प्रतिक्रिया
शेयर