सिम्रौनगढबाट लाखौँको अवैध तरबुजाको बिउ र ट्रकसहित चालक नियन्त्रणमा

छानबिन न्यूज
पाठक संख्या 31
1 Min Read

८ असार,बारा ।  बारा प्रहरीले ठुलो परिमाणमा अवैध रूपमा ओसारपसार भइरहेको तरबुजाको बिउ  र एउटा ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको छ।

​जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आइतबार  राति अन्दाजी ८:३० बजेको समयमा बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६, पावरहाउस चोकस्थित सडक खण्डमा इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले उक्त सामग्री बरामद गरेको हो।

​सिम्रौनगढबाट महोत्तरीतर्फ जाँदै गरेको ना ४ ख ८३४१ नम्बरको ट्रकलाई शङ्का लागि रोकी जाँच गर्ने क्रममा राजस्व छली गरी अवैध रूपमा लैजाँदै गरेको ३१४ बोरा (जम्मा १२ हजार ५ सय ६० केजी) तरबुजाको बिउ फेला परेको प्रहरीले जनाएको छ। बरामद गरिएको उक्त बिउको अनुमानित बजार मूल्य २२ लाख ९९ हजार २ सय ३३ रुपैयाँ रहेको छ।

​प्रहरीले २२ लाख ९९ हजारभन्दा बढीको बिउ, अनुमानित ३५ लाख रुपैयाँ मूल्य बराबरको ट्रक र ट्रक चालक बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ३ बस्ने ३१ वर्षीय परवेज आलमलाई नियन्त्रणमा लिएको छ।

​जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक  मीनबहादुर घलेले कुल ५७ लाख ९९ हजार २ सय ३३ रुपैयाँ बराबरको मूल्याङ्कन गरी थप आवश्यक कारबाहीका लागि चालक, ट्रक र बरामद बिउलाई राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा पठाइएको जानकारी दिएका छन ।

प्रतिक्रिया
शेयर