ईर्साद अन्सारी
२८ फागुन काठमाण्डाैं । सर्वोच्च अदालतले धनुषा १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहलाई कालोसूचीबाट हटाउन नेपाल राष्ट्र बैंकलाई आदेश दिएसँगै त्यहाँको चुनावी नतिजामा नयाँ मोड आएको छ।
निर्वाचनका दौरान साह कालोसूचीमा रहेको भन्दै निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेपछि, चुनावमा सबैभन्दा बढी मत प्राप्त गरे पनि आयोगले उनको भोटलाई बदर मानी दोस्रो स्थानमा रहेका नेकपा उम्मेदवार मातृका यादवलाई विजयी घोषणा गरेको थियो।
तर, साहले राष्ट्र बैंकविरुद्ध हालेको रिटमा आज अदालतले उनको पक्षमा आदेश दिएपछि यादवले पाएको विजयी प्रमाणपत्र खोसिन सक्ने अवस्था सिर्जना भएको छ। यसैबीच, उम्मेदवारी खारेजीको निर्णयविरुद्ध साहले दिएको अर्को रिटमा सर्वोच्चले भोलि निर्वाचन आयोगलाई छलफलका लागि बोलाएको छ।
निर्वाचन आयोगका प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार भोलिको बहस र अदालतको फैसलाका आधारमा यादवको प्रमाणपत्र रद्द गर्ने वा नयाँ निर्णय लिने भन्नेबारे टुंगो लाग्नेछ।
