बिकेन्द्र सुबेदी
१६ जेठ,बारा । मध्यपहाडी लोकमार्गअन्तर्गत अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा दार्चुलाबाट जुम्लातर्फ जाँदै गरेको सल्लोक आश्रम जनकपुरको बाप्र ०१–०२७ च २२७७ नम्बरको जिप सडकबाट करीब दुई सय मिटर तल खसेर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक सिताराम विष्टका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका ४१ वर्षीय नवीन तुलाधर र बर्दियाको बाँसगढी नगरपालिका–५ का ४५ वर्षीय रामप्रकाश थारुको सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–५ का २८ वर्षीय चालक राज राजेन्द्र भिमराज चट्टान गुप्ता र सिराहको कल्याणपुर नगरपालिका–१० का २७ वर्षीय सन्तकुमार शाहको अवस्था गम्भीर रहेको छ ।
स्याङ्जाको फेदीखोला नगरपालिका–४ का अर्जुन कुमार पौडेलको अवस्था मध्यम रहेको र उनीहरू सबैको सुर्खेतमै उपचार भइरहेको प्रहरीले जनाएको छ । हालसम्म दुर्घटनाको स्पष्ट कारण भने खुल्न सकेको छैन ।
