सिन्धुपाल्चोकमा ठूलो परिमाणमा अवैध भेप समातियो, चिनियाँ जंगलको बाटो हुँदै गरिन्थ्यो तस्करी

छानबिन न्यूज
पाठक संख्या 17
1 Min Read
Oplus_16908288

२ जेठ,बारा ।  सिन्धुपाल्चोकको चीन जोड्ने तातोपानी नाकाको सीमावर्ती क्षेत्रबाट प्रहरीले रु ५६ लाख ७० हजार बराबरको ठूलो परिमाणमा अवैध भेपसहित ७ जनालाई नियन्त्रणमा लिएको छ।

ईलाका प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक जगतबहादुर राईको कमाण्डमा खटिएको ७ सदस्यीय टोलीले शुक्रबार राति करिब ९:३० बजे विशेष चेकजाँचका क्रममा भोटेकोशी गाउँपालिका–३ गंजेखोला क्षेत्रबाट उक्त १ हजार ६२० थान भेप बरामद गरेको हो।

तस्करहरूले ९ वटा बोराले छोपेर कार्टुनभित्र लुकाइछिपाइ चिनियाँ जंगल क्षेत्र छिचोल्दै भोटेकोशी गाउँपालिका–३ बोक्चेन हुँदै अरनिको राजमार्गको दसकिलोतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामग्री फेला परेको प्रहरीले जनाएको छ।

घटनामा संलग्न रहेको आरोपमा भोटेकोशी गाउँपालिका–४ का ३५ वर्षीय गणेश खड्का, ४६ वर्षीय हिमाल खड्का, २४ वर्षीय विकास विक, ४८ वर्षीय रामबहादुर विक, १७ वर्षीय विशाल रक्पाल, ३७ वर्षीय मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का ४२ वर्षीय कान्छा तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।  बरामद गरिएको भेपलाई भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिनुभयो।

प्रतिक्रिया
शेयर