३१ असार,बारा । मिडिया काउन्सिल मधेश प्रदेशले महोत्तरीको बर्दिवासमा आयोजित एक कार्यक्रमबारे केही सञ्चारमाध्यममा आएका समाचारहरूको कडा खण्डन गर्दै ती समाचार गलत, भ्रामक र तथ्यहीन भएको स्पष्ट पारेको छ।
काउन्सिलका कार्यवाहक अध्यक्ष बन्दना कुमारी झाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, असार २९ गते सोमबार नेपाल पत्रकार महासंघका प्रमुख तथा प्रतिनिधिहरूसँग आचारसंहिताको प्रभावकारी कार्यान्वयन र पालनाका विषयमा आयोजित छलफल एवं अन्तरक्रिया कार्यक्रम पूर्ण रूपमा विधिसम्मत र कानुनी प्रक्रियाअनुरूप सम्पन्न भएको हो।
कार्यक्रममा आर्थिक कार्यविधि परिपालना नभएको भनी फैलाइएका भ्रमहरूलाई चिर्दै काउन्सिलले उक्त कार्यक्रम आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा २ (ङ), दफा २४ (५) तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को दफा ४७ र प्रदेश खर्चको मापदण्ड निर्देशिका २०८० लगायतका कानुनी प्रावधानअनुसार नै पारदर्शी ढंगले सम्पन्न गरिएको प्रष्ट पारेको छ।
तथ्य पुष्टि नगरी भ्रम फैलाउने उद्देश्यले समाचार सम्प्रेषण गर्नु जिम्मेवार पत्रकारिताको मर्म र आचारसंहिताविपरीत हुने भन्दै काउन्सिलले सञ्चारमाध्यमहरूलाई यथार्थका आधारमा मात्र समाचार लेख्न आग्रह गरेको छ, साथै पारदर्शिता र विधिको शासनप्रति प्रतिबद्ध रहँदै यस विषयमा थप जानकारी आवश्यक परेमा कार्यालयबाटै आधिकारिक सूचना लिन सकिने समेत स्पष्ट पारेको छ।


