१७ असार,बारा । गुल्मीको धुर्कोट गाउँपालिका–५ मन्टारीमा जंगली बँदेल नियन्त्रण गर्नका लागि बारीमा राखिएको करेन्टमा परेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको छ ।
उनका ६६ वर्षीय श्रीमान् भेषराज भण्डारीले आफ्नै घरभन्दा करिब १५० मिटर टाढा रहेको बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी पासो थापेका थिए, जसमा परेर हुमकला गम्भीर घाइते भएकी थिइन् ।
घाइते उनलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल तम्घास लगिएको भए तापनि चिकित्सकले बिहान ३:२५ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिएका छन् ।
यस घटनापछि प्रहरीले करेन्ट प्रवाह गर्ने भेषराज भण्डारीलाई नियन्त्रणमा लिएको छ भने जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया
