सांस्कृतिक उमङ्गका साथ धान दिवस र दही चिउरा पर्व मनाइँदै, सिँचाइ र मलको अभावले किसान चिन्तित

छानबिन न्यूज
पाठक संख्या 45
1 Min Read
Oplus_16908320

ईर्साद अन्सारी

१५ असार,बारा ।  प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस तथा दही चिउरा पर्व आज देशभर खेतमा काम गरी, असारे भाकामा लोकदोहोरी गाउँदै र हिलो छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइँदैछ।

विसं २०६१ को मन्त्रीस्तरीय निर्णयअनुसार २०६२ सालदेखि मनाउन थालिएको यो दिवस नेपाली समाजमा एउटा विशिष्ट सांस्कृतिक पर्व बनिसकेको छ, जहाँ कृषिपेसामा नरहेका आम नागरिकले समेत दही चिउरा खाएर यसलाई उत्सवका रूपमा लिने गर्दछन्।

भोजनको अन्त्यमा मोही वा दही सेवन गर्दा स्वास्थ्य राम्रो हुने र पाचन शक्ति बढ्ने आयुर्वेदको मान्यता तथा वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवर्द्धक मानिने दही चिउराले रोपाईंको कामले थकित किसानलाई शीतलता र ऊर्जा प्रदान गर्दछ।

हाम्रो संस्कृतिमा शुभकार्य, विदेश यात्रा वा विशेष साइतमा दही अक्षताको टीका लगाउने र सगुन खुवाउने ऐतिहासिक एवं धार्मिक परम्परा समेत रहिआएको छ।

यद्यपि, यस वर्ष असारको मध्य भइसक्दा पनि देशका धेरै भूभागमा पर्याप्त वर्षा नभएका कारण लक्षित रूपमा रोपाइँ हुन सकेको छैन भने अर्कातर्फ किसानहरूले रासायनिक मलको अभाव झेल्नुपरेको गुनासो गरिरहेका छन्, तर कृषि, वन तथा पर्यावरण मन्त्रालयले भने देशमा पर्याप्त मात्रामा मलको मौज्दात रहेको दाबी गरेको छ।

प्रतिक्रिया
शेयर