गृहमन्त्री गुरुङद्वारा बारा-पर्सा सीमाक्षेत्रको गोप्य निरीक्षण: सुरक्षा संयन्त्रभित्र तरंग

छानबिन न्यूज
पाठक संख्या 69
1 Min Read
Oplus_16908288

१४ असार,बारा ।  नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले बारा र पर्साको सीमावर्ती क्षेत्रमा सामान्य नागरिकको भेषमा गरेको गोप्य स्थलगत निरीक्षणको तथ्य सार्वजनिक भएसँगै मुलुकको सुरक्षा संयन्त्रभित्र ठुलो तरंग पैदा भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन महाधिवेशनपश्चात् शुक्रबार राति माडी-ठोरी नाका हुँदै पर्सा प्रवेश गरेका मन्त्री गुरुङले शनिबार बिहान मास्क, टोपी र साधारण पहिरनमा जानकी टोला, मटिअर्वा तथा अलौँलगायतका संवेदनशील सीमावर्ती बस्तीहरूको स्थलगत अनुगमन गरी स्थानीय नागरिकसँग प्रत्यक्ष संवाद गरेका थिए।

आफ्नै सचिवालय, जिल्ला प्रशासन र सुरक्षा निकाय (नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल) सम्मलाई पूर्णतः अनभिज्ञ राखेर गरिएको यस भ्रमणले एकातिर सुरक्षा प्रोटोकल र मन्त्रीको व्यक्तिगत सुरक्षा जोखिममाथि गम्भीर प्रश्न उठाएको छ

अर्कातिर परम्परागत औपचारिक निरीक्षणका क्रममा हुने “कपटपूर्ण तयारी” लाई पन्छाएर सीमा सुरक्षा, तस्करी, लागूऔषध ओसारपसार र खुला सीमाका वास्तविक चुनौतीबारे स्थलगत तथ्य बुझ्न यस्तो व्यवहारिक कदम प्रभावकारी हुने भन्दै प्रशंसा समेत गरिएको छ।

गृह प्रशासनकै प्रमुख सुरक्षा घेराबाहिर निस्किएर गरेको यो आकस्मिक र रणनीतिक अनुगमनले सुरक्षा संयन्त्रमाथिको अविश्वास वा नयाँ सुरक्षा रणनीतिको संकेत भन्नेबारे बहस सिर्जना गरेको परिप्रेक्ष्यमा, यस गोप्य निरीक्षणबाट प्राप्त निष्कर्षलाई सरकारले आगामी दिनमा व्यावहारिक रूपमा कसरी रूपान्तरण गर्छ भन्ने विषय अब निकै चासोको केन्द्र बनेको छ।

प्रतिक्रिया
शेयर