११ असार,काठमाण्डाैं । मनसुनजन्य प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बलले देशभर आफ्नो सक्रियता बढाउँदै बाढी, पहिरो र डुबानजस्ता विपद्मा तत्काल उद्धार गर्न २१ हजार ६ सय ९९ विशेष तालिमप्राप्त जनशक्तिलाई तयारी अवस्थामा राखेको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सङ्गठनको छवि सुधार्न विपद् व्यवस्थापन, सीमा सुरक्षा र आर्थिक सुशासनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै विपद् प्रतिकार्यकै लागि देशभर ८ हजार १ सय ८० सशस्त्र प्रहरी कर्मचारीलाई २४ सै घण्टा ‘स्ट्यान्डबाई’ राखिएको र दुर्गम तथा जोखिमयुक्त स्थान पहिचान गरी सातै प्रदेशका ५४ स्थानमा ‘अस्थायी मनसुन प्रतिकार्य बेस’ तथा धनकुटाको मूलघाट, सुनसरीको चतरा, बाराको निजगढलगायत १६ वटा अति जोखिमयुक्त स्थानमा स्थायी विपद् व्यवस्थापन बेस स्थापना गरिएको जानकारी दिए।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आवश्यक उपकरण, ८२ वटा र्याफ्टिङ बोट र ५३ वटा मोटर बोटसहित १ सय ३४ गोताखोरको टोलीलाई देशभरका ११ जोखिमयुक्त स्थानमा खटाइएको छ भने विशिष्टीकृत तालिम प्राप्त ४ हजार ७ सय १० दक्ष कर्मचारी, आपत्कालीन स्वास्थ्य सेवाका लागि ८ वटा ‘मास क्याजुअल्टी भेइकल’, ८ वटा ‘ए’ क्लास एम्बुलेन्स, १० वटा ‘इमिडिएट रेस्पोन्स टिम’ र १३ वटा हेभी इक्विपमेन्टहरू विभिन्न प्रदेशमा तैनाथ गरिएका छन्।
जल तथा मौसम विज्ञान विभागको तथ्यांकलाई आधार मानेर प्रतिकार्य योजना बनाएको सशस्त्र प्रहरीले विपद्को सूचना तत्काल प्राप्त गर्न ‘एपीएफ कम्युनिटी अलर्ट सिस्टम’ मोबाइल एप सञ्चालनमा ल्याउनुका साथै समुदायको सहभागिता बढाउन १ हजार ७ सय ४१ विपद् स्वयंसेवक र स्थानीय तहमा १ लाख ६८ हजारभन्दा बढी ‘विपद् सूचक’ हरूको सञ्जाल समेत निर्माण गरेको छ।
