९ असार,बारा । सुनसरीको बर्जु गाउँपालिका-६ मा कारले मोटरसाइकललाई ठक्कर दिँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको छ भने उनकी ४७ वर्षीया पत्नी रामपरी यादव घाइते भएकी छन् ।
विराटनगरबाट हुलाकी राजमार्ग हुँदै चिमडीतर्फ जाँदै गरेको प्र १–०२–००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–००३ प २६१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका सप्तरी घर भएका यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको हो ।
भर्खरै वरिष्ठ सईमा बढुवा भई जिल्ला प्रहरी कार्यालय सिराहामा सरुवा भएका तर हाजिर हुन बाँकी रहेका यादवकी घाइते पत्नीको अवस्था भने सामान्य रहेको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जनाएका छन्।
प्रहरीले दुर्घटना गराउने कारका चालक विराटनगरबाट काम विशेषले जाँदै गरेका ५० वर्षीय रेडियोलोजिस्ट डा. राजेन्द्र चौधरीलाई नियन्त्रणमा लिएको छ ।
