ईर्साद अन्सारी
८ असार,बारा । चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले पार्टीभित्र गुट–उपगुट र पुरानै राजनीतिक शैली दोहोरिए अपेक्षित परिणाम हासिल नहुने चेतावनी दिएका छन ।
सबै प्रतिनिधिहरूलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गर्दै उनले पुरानै राजनीतिक अभ्यास, आन्तरिक खिचातानी र शक्ति प्राप्त गर्ने दौडले पार्टीलाई सफलतामा नपुर्याउने स्पष्ट पारे ।
फरक परिणाम चाहिएको भए सोच र कार्यशैलीमै परिवर्तन आवश्यक रहेकोमा जोड दिँदै सभापति लामिछानेले भन्ने, “राजनीतिक चरित्र उस्तै रह्यो, राजनीतिक खिचातानी उस्तै रह्यो, शक्ति प्राप्त गर्ने दौड उस्तै रह्यो, झन्झन् शक्तिशाली बन्नका लागि गुट–उपगुटको सङ्घर्ष उस्तै रह्यो भने हामीबाट आउने परिणाम उस्तै हुन्छ फरक हुँदैन; त्यसैले जहाँबाट जसरी आएको भए तापनि यो निलो रङभित्र हामीले राष्ट्रका लागि गर्नुपर्ने प्रतिबद्धता सँगै मिसिएर आएकाले हिजोकै शैलीले फरक परिणाम निकाल्ने कसैले दिवास्वप्न देखेको छ भने त्यो असफलता तर्फ जान्छ।”
