५ असार,भ्यानकुभर । फिफा विश्वकप अन्तर्गत भ्यानकुभरको बीसी प्लेस रंगशालामा भएको खेलमा कतार विरुद्ध ६-० को फराकिलो जित निकाल्दै क्यानडाले नकआउट चरणको यात्रा लगभग पक्का गरे पनि २४ वर्षीय मिडफिल्डर इश्माईल कोनेको बीभत्स चोटले टोलीको खुसीलाई खल्लो बनाइदिएको छ ।
खेलको ५३औं मिनेटमा कतारका आसिम माडिबोको खराब ‘ट्याकल’ का कारण सासुओलोका स्टार कोनेको खुट्टा भाँचिएपछि मुख्य प्रशिक्षक जेसी मार्सले साइडलाइनबाटै हड्डी भाँचिएको आवाज सुनेको भन्दै दुःख व्यक्त गरे ।
घटनालगत्तै मैदानबाट स्ट्रेचरमा अस्पताल पुर्याइएका कोनेको अब शल्यक्रिया गरिने र उनी कम्तीमा ४ देखि ५ महिना मैदान बाहिर रहने भएकाले जारी विश्वकपका बाँकी खेल गुमाउने निश्चित भएको छ ।
बल जित्ने सम्भावना नहुँदा पनि खेलाडीलाई चोट पुर्याउने नियतले गरिएको भन्दै खेलमा ह्याट्रिक गरेका जोनाथन डेभिडले सो ट्याकलको कडा आलोचना गरे ।
कोनेलाई चोट पुर्याउने कतारी खेलाडी माडिबोले रातो कार्ड पाउनुका साथै पछि क्यानेडियन टोलीको ड्रेसिङ रुममा पुगेर माफी मागे पनि मुख्य खेलाडीको यो अपूरणीय क्षतिले क्यानडा टोलीलाई ठूलो धक्का लागेको छ ।
