१४ माघ,बारा । बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीहमा आज बुधबार बिहान करिब ३ बजे अज्ञात समूहले घरमै पसेर धारिलो हतियार प्रहार गर्दा एकै परिवारका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन्।
स्थानीय जगरुप महतो धानुकको परिवारलाई लक्षित गरी गरिएको उक्त साङ्घातिक आक्रमणमा ५२ वर्षीया आमा सुमित्रा देबि मण्रडल र उनका ३२ वर्षीय छोरा रामेश्वर मण्डलको निर्मम हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।
घटनामा घाइते भएका परिवारका अन्य सदस्यहरूको परवानीपुर स्थित एलएस न्युराे अस्पतालमा हाल उपचार भइरहेको छ ।
घटनास्थलमा प्रहरी टोली पुगी अनुसन्धानलाई तीव्रता दिएको छ। यो अकल्पनीय र क्रूर घटनाले यतिबेला पुरै गाउँ शोकमा डुबेको छ र दोषीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
