निजगढको होटलमा महिलाको शङ्कास्पद मृत्यु: फरार दुई अभियुक्त रातभरिको अपरेसनपछि पक्राउ

छानबिन न्यूज
पाठक संख्या 32
1 Min Read

२६ वैशाख,बारा  । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकस्थित गुरुङ होटलमा एक महिलाको शङ्कास्पद मृत्यु भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई पुरुषलाई नियन्त्रणमा लिएको छ ।

सुक्रबार राति अन्दाजी १० बजेको समयमा होटलको कोठाभित्र निजगढ नगरपालिका–१२ निवासी २५ वर्षीया सीता थिङ घाइते अवस्थामा फेला परेको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको टोलीले उनलाई तत्काल सामुदायिक अस्पताल प्रसुति गृह पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको समयमा मृतक थिङसँगै कोठामा रहेकी निजगढ–९ की १८ वर्षीया अनु सुनार प्रहरी नियन्त्रणमै रहेको र घटनास्थलबाट फरार भएका अन्य दुई व्यक्तिहरू जितपुर सिमरा उपमहानगरपालिका–१६ टाङ्गिया बस्तीका ३६ वर्षीय सुनिल बोम्जन र ३५ वर्षीय महेश माझीलाई जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय निजगढको संयुक्त टोलीले प्राविधिक विश्लेषणसहितको ‘खोजतलास अपरेसन’ मार्फत रातभरिमा पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बोम्जनलाई राति १:०० बजे टाङ्गिया बस्ती नजिकैको जङ्गल छेउबाट र माझीलाई राति ४:०० बजे निजगढ–७ माझीटोलबाट नियन्त्रणमा लिई घटनाबारे थप कानुनी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया
शेयर