२६ बैसाख,राैतहट बंकुल । रौतहटको बंकुलसहितका सीमावर्ती नाकाहरूबाट सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा व्यापक रूपमा तस्करी भइरहेको स्थानीयले आरोप लगाएका छन्।
भारतीय बजार घोडासहन र चैनपुरबाट रात परेपछि बनजराहा, औरैया, मठिया, जयनगर, घिउरा, रामपुरखाप, नरकटिया र बंकुलको बाँसघारी लगायतका क्षेत्रबाट दर्जनौँ मोटरसाइकल र साइकलमार्फत कपडा, सुर्ती, पार्टपुर्जा, धानको बीउ र मदिराको अवैध ओसारपसार भइरहेको छ।
विशेषगरी बिहारमा मदिरा प्रतिबन्धित रहेकाले यो क्षेत्रमा मदिरा तस्करहरू समेत निकै सक्रिय देखिएका छन्। स्थानीयका अनुसार सशस्त्र प्रहरी बलको बीओपी सरमुजवामा कार्यरत वरिष्ठ हवलदार रामजनम यादवले सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) नवीन अलीको विश्वासपात्रका रूपमा नरकटिया नाकामा बसेर तस्करहरूसँग मोटो रकम असुल्ने र लाइन मिलाउने काम गरिरहेका छन्।
अमजित साह, मिश्रिलाल, मोहन कुशवाहा, नुर सैयद, मुस्ताफा, राजु जयसवाल सहितका नेपाली र श्यामसुन्दर, सन्तोष, जयप्रकाश जस्ता भारतीय तस्करहरूको सक्रियता बढ्दा पनि बीओपी सरमुजवा, औरैया र फतुवाका इन्चार्जहरू मौन रहनुले सुरक्षा निकायको भूमिकामाथि गम्भीर प्रश्न खडा गरेको छ।
एकातिर घरायसी प्रयोजनका लागि दाल-चिनी ल्याउने सर्वसाधारणले सीमामा सास्ती खेप्नुपर्ने र अर्कोतिर पहुँचवाला तस्करहरूले निर्बाध रूपमा सामान भित्र्याउन पाउनुले राज्यको विभेदकारी नीति झल्काएको भन्दै आक्रोशित स्थानीयले “सीमामा सरकार छैन, तस्करको राज छ” भन्ने गुनासो गरेका छन्।
वर्तमान सरकार नीतिगत कुरामा अल्झिँदा सीमामा मौलाएको यो बेथिति रोक्न राज्यले तस्करप्रति निर्मम र सर्वसाधारणप्रति न्यायपूर्ण व्यवहार देखाउनु अति आवश्यक देखिएको छ।
