जनतालाई भन्सारमा सास्ती, प्रहरीकै सेटिङमा सीमाबाट तस्करीको खुला ‘लाइन’

छानबिन न्यूज
पाठक संख्या 189
2 Min Read

२४ बैसाख,​बारा । वर्तमान बालेन शाह नेतृत्वको सरकारले सुशासन र राजस्व चुहावट नियन्त्रणका लागि भारतीय बजारबाट एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने कडा नीति लिएपछि आम सर्वसाधारणले सास्ती खेपिरहेका बेला पर्साका विभिन्न नाकाबाट भने प्रहरीकै सेटिङमा व्यावसायिक तस्करी मौलाएको पाइएको छ।

पर्साको अलौ, ड्राइपोर्ट र अमरपट्टि नाकालाई वैकल्पिक मार्ग बनाउँदै तस्कर समूहले रातको समयमा मोटरसाइकल र साइकलमार्फत लाखौँ मूल्यका कपडा, हार्डवेयर, काजु, जुत्ताचप्पल, किराना सामान र कम्प्युटरका पार्टपुर्जाहरू निर्वाध रूपमा भित्र्याइरहेका छन्।

अचम्मको कुरा के छ भने, वडा प्रहरी कार्यालय श्रीपुरले परिचालन गरेको ‘क्युआर टोली’ नै दिनभर तस्करहरूसँग सेटिङ मिलाउन र रकम असुल्न व्यस्त रहने गरेको स्थानीयको आरोप छ।

विशेष गरी उक्त टोलीमा कार्यरत प्रहरी जवान दिपेश क्षेत्रीले आफूलाई पर्साकै स्थानीय र एक प्रभावशाली नेताको नाति भएको धाक लगाउँदै तस्करीको लाइन मिलाउने कार्यमा मुख्य भूमिका खेल्ने गरेको चर्चा व्याप्त छ।

एकातिर घरायसी प्रयोजनका लागि सानो परिमाणमा सामान ल्याउने सर्वसाधारण मुख्य नाकामा सुरक्षाकर्मीको केरकार र कडा नीतिका कारण प्रताडित छन् भने अर्कोतिर संगठित तस्करहरूले प्रहरीकै संरक्षणमा राज्यको राजस्वमा ठुलो घाटा पुर्‍याइरहेका छन्।

भ्रष्टाचार र तस्करीमा सरकारले शून्य सहनशीलताको नीति लिएको दाबी गरे पनि वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक नवीन थापा मगरको रहस्यमय मौनता र मातहतका कर्मचारीको खुल्लमखुल्ला अनियमितताले स्थानीय प्रशासन र सरकारको नियतमाथि नै गम्भीर प्रश्न खडा गरिदिएको छ।

प्रतिक्रिया
शेयर