१८ बैसाख,बारा । नेपाल सरकारले वि.सं. २०७६ चैत २४ गते राजपत्रमा सूचना प्रकाशित गरी ‘निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३’ बमोजिम पूर्ण प्रतिबन्ध लगाएको छोकडा (खजुर) आयात गर्न सरकारी कागजात किर्ते गरेको अभियोगमा सिमभिन इन्टरनेसनल इम्पेक्सका सञ्चालक नवीन कुमार अग्रवाल पक्राउ परेका छन् ।
काठमाडौँको कालिकास्थानमा कार्यालय रहेका ५५ वर्षीय अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार वीरगञ्ज महानगरपालिका–११ आदर्शनगरबाट नियन्त्रणमा लिएको हो ।
अग्रवालले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नक्कली लेटरहेड, छाप र पूर्व महानिर्देशकको नक्कली हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयात गर्ने किर्ते अनुमति पत्र तयार पारी वीरगञ्ज भन्सार कार्यालयमा पेस गरेका थिए ।
भन्सार अधिकारीहरूले उक्त पत्रमा शङ्का लागेर विभागसँग बुझ्दा पत्र पूर्ण रूपमा किर्ते भएको पुष्टि भएपछि सामान जफत गरी सीआईबीलाई खबर गरिएको थियो ।
हाल काठमाडौँ महानगरपालिका–६ निवासी अग्रवालमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत ‘लिखत सम्बन्धी कसुर’ मा अनुसन्धान भइरहेको र यस कार्यमा अन्य व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशङ्का गर्दै सीआईबीले थप कानूनी प्रक्रिया अगाडि बढाएको छ ।
