३० चैत,बारा । प्रधानमन्त्री बालेन्द्र शाहसहितका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएपछि सुनचाँदी र गरगहनाको मात्रालाई लिएर सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि गृहमन्त्री सुधन गुरुङले आफ्नो बचाउमा गरेको विवादित टिप्पणी हटाएका छन् ।
आइतबार सार्वजनिक भएको विवरणमा मन्त्रीहरूको सम्पत्ति अकल्पनीय देखिएको भन्दै प्रश्न उठ्न थालेपछि मन्त्री गुरुङले इन्स्टाग्राम स्टोरीमार्फत “तिमी जन्मिँदा गरिब जन्मनु तिम्रो गल्ती होइन, तर मर्दा गरिब मर्नु तिम्रो गल्ती हो” भन्ने आशयको अभिव्यक्ति दिँदै सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाएको सम्पत्तिलाई “पाप” नभन्न आग्रह गरेका थिए ।
ह्यासट्याग ‘चेतना भया’ समेत प्रयोग गरिएको उक्त पोस्टको चौतर्फी आलोचना र नागरिकस्तरबाट चर्को विरोध भएपछि अन्ततः गृहमन्त्रीले दबाबका बीच उक्त पोस्ट सामाजिक सञ्जालबाट हटाएका हुन् ।
