पत्रकार सञ्जय मिश्रमाथि भएको दुर्व्यवहारप्रति प्रेस चौतारी मधेस प्रदेशको आपत्ति

छानबिन न्यूज
पाठक संख्या 99
1 Min Read

१६ चैत,बारा ।  प्रेस चौतारी नेपाल मधेस प्रदेश समितिले रातोपाटी डटकमका रौतहट संवाददाता तथा अग्रज पत्रकार सञ्जय मिश्रमाथि सामाजिक सञ्जालमार्फत गरिएको निकृष्ट गालीगलौज र मानमर्दनको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यसको तीव्र भर्त्सना गरेको छ।

आम जनता पार्टी (आजपा) का सचिवालय सदस्य राजन साहले पार्टी परित्याग गरेको समाचार लेखेको झोंकमा आजपा अध्यक्ष प्रभु साहको समर्थनमा सञ्चालित ‘आई सपोर्ट प्रभु’ नामक फेसबुक आईडीबाट पत्रकार मिश्रको फोटोसहित असभ्य भाषा प्रयोग गरी अपमानित गरिएको भन्दै चौतारीले कडा निन्दा गरेको हो।

​महासचिव दिवाकर भण्डारीद्वारा जारी विज्ञप्तिमा समाचारप्रति चित्त नबुझे कानुनी उपचार खोज्ने बाटो हुँदाहुँदै सामाजिक सञ्जालमा चरित्र हत्या गर्नु र धम्की दिनुलाई लोकतान्त्रिक समाजको उपहास भनिएको छ।

राजनीतिक आडमा पत्रकारलाई मानसिक तनाव दिने उक्त पेज सञ्चालकलाई तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन प्रशासनसँग माग गर्दै चौतारीले यस्ता उच्छृङ्खल गतिविधिले प्रेस स्वतन्त्रतामाथि प्रहार हुने ठहर गरेको छ।

साथै, निर्भिकताका साथ समाचार लेख्ने वातावरण बनाउन र पत्रकारको सुरक्षाको पूर्ण प्रत्याभूति गर्न समेत सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।

प्रतिक्रिया
शेयर