१३ चैत,काठमाण्डाैं । सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गरेलगत्तै नवनियुक्त अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले देशको पछिल्लो आर्थिक अवस्थाको मिहिन अध्ययन तथा विश्लेषण गर्न एक कार्यदल गठन गर्ने पहिलो निर्णय गरेका छन्।
प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका वाग्लेले गठन गरेको उक्त कार्यदललाई यही चैत १३ गते शुक्रबारसम्मको देशको समग्र आर्थिक चित्र तयार पार्ने म्याद दिइएको छ भने उनले अबको मुख्य प्राथमिकता बजेट निर्माणमा केन्द्रित हुने स्पष्ट पारेका छन्।
सोही क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी बाचापत्र र फागुन २१ को नयाँ जनादेशअनुसार स्पष्ट कार्ययोजना बनाउन अर्को कार्यदल समेत बनाइएको छ।
विशेषगरी उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिस बमोजिम राजस्व अनुसन्धान विभाग खारेज गर्ने तथा करिब १५ वटा पुराना ऐनहरू खारेज वा संशोधनको प्रक्रिया अघि बढाउन अध्ययन समिति बनाउने निर्णय भएको छ।
यसका साथै निजी क्षेत्रको सुरक्षा, लगानीमैत्री वातावरण निर्माण र ठूला आयोजनाहरूलाई तीव्रता दिन सहजीकरण गर्ने निर्णय गर्दै अर्थमन्त्री वाग्लेले सुधारको नयाँ खाका अघि सारेका छन्।
