१२ चैत,काठमाण्डाैं । नेपाली कांग्रेसले आफ्नो १५औँ केन्द्रीय महाधिवेशन आगामी २०८३ असोज १६ देखि १९ गतेसम्म सम्पन्न गर्ने निर्णय गर्दै विस्तृत कार्यतालिका सार्वजनिक गरेको छ।
बुधबार बसेको केन्द्रीय कार्यसमिति बैठकको निर्णयअनुसार, पार्टीले चैत मसान्तसम्म क्रियाशील सदस्यता वितरण र अद्यावधिकको विशेष अभियान सञ्चालन गर्नेछ, जसका लागि १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाइने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन ।
कार्यतालिका अनुसार वैशाख १ देखि मसान्तसम्म ६,७४३ वटै वडामा सदस्यता वितरण र अद्यावधिक गरिनेछ भने जेठ मसान्तभित्र जिल्लास्तरका उजुरी छानबिन गरी केन्द्रमा पठाउनुपर्नेछ।
केन्द्रले असार १५ सम्म सदस्यताको अन्तिम टुङ्गो लगाइ असार मसान्तभित्र नामावली निर्वाचन समितिलाई बुझाउनेछ। तल्लो तहका अधिवेशनहरूअन्तर्गत भदौ २ मा वडा अधिवेशन, भदौ ७ मा गाउँ/नगर अधिवेशन, भदौ १७ मा प्रदेशसभा क्षेत्रीय र एकमात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन, तथा असोज २ र ३ गते बाँकी जिल्ला अधिवेशनहरू सम्पन्न गरिनेछन्।
महाधिवेशनको तयारीका लागि पार्टीले सदस्यता व्यवस्थापन र अधिवेशन प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न १६ वटा विशेष निर्णयहरू समेत गरेको छ।
