९ चैत,पर्सा । पर्साको वीरगञ्ज महानगरपालिकास्थित अलौ नाका पछिल्लो समय अनधिकृत ओसारपसार (तस्करी) का लागि मुख्य ट्रान्जिट बन्दै गएको जनगुनासो चुलिएको छ ।
जहाँ भारतीय बजार रक्सौलबाट साइकल र मोटरसाइकलको प्रयोग गरी बिहानदेखि रातिसम्म कपडा, किराना सामग्री, हार्डवेयर, मोबाइलका पार्टपुर्जा र सुर्तीजन्य वस्तुहरू निर्वाध रूपमा नेपाल भित्रिरहेको पाइएको छ भने यस कार्यलाई नियन्त्रण गर्नुको सट्टा सीमा प्रहरी चौकी ड्राइपोर्टका इन्चार्ज प्रहरी नायब निरीक्षक (सई) श्याम यादवले तस्करहरूसँग “सेटिङ” मिलाएर लाइन दिएको आरोप स्थानीय बासिन्दाहरूले लगाएका छन्।
“एनी हाउ पैसा कमाउ” भन्ने ध्येयका साथ अघि बढेका भनिएका सई यादव आफ्नो सेवा अवधिभर तराईका आकर्षक र आर्थिक रूपमा लाभ हुने चौकीहरूमा मात्रै बस्न रुचाउने र माथिल्लो निकायका हाकिमहरूलाई रिझाउन सिपालु रहेका कारण लामो समयदेखि सीमावर्ती क्षेत्रमै टिकिरहेको दाबी गरिएको छ ।
जसमा उनले ‘सिंह’ थरका एक घुमुवा प्रहरीलाई आर्थिक संकलनको मुख्य माध्यम बनाएर अवैध असुली गरिरहेको बुझिएको छ।
यसरी पहुँच र प्रभावको भरमा राज्यले सुम्पिएको “सत्य सेवा सुरक्षणम्” को आदर्शलाई बिर्सिएर व्यक्तिगत स्वार्थमा लिप्त कर्मचारीका कारण एकातिर सीमा सुरक्षा फितलो बन्दै गएको छ भने अर्कोतिर वीरगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा समेत प्रत्यक्ष र नकारात्मक असर परिरहेको छ।
मुलुकमा नयाँ सरकार गठनको रसाकस्सी चलिरहेका बेला जनमानसले यस्ता भ्रष्ट प्रवृत्तिका सुरक्षाकर्मीहरूलाई कारबाहीको दायरामा ल्याई सीमा प्रशासनमा शुद्धीकरण गर्नुपर्ने माग राखेका छन्, ताकि राज्यको ढुकुटीमा जम्मा हुनुपर्ने राजस्व सुरक्षित होस् र विधिको शासनको अनुभूति आम नागरिकले गर्न सकून्।
