ईर्साद अन्सारी
५ चैत,बारा । पर्साको पर्सागढी नगरपालिका–७ मा गत आइतबार आफ्नै श्रीमान् विश्वनाथ सहनीबाट क्रूर आक्रमणमा परी गम्भीर घाइते भएकी हरिकला देवी सहनीको सम्पूर्ण उपचार खर्च पर्सा–२ का नवनिर्वाचित रास्वपा सांसद सुशील कुमार कानुले व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।
बाराको परवानीपुर गाउँपालिकास्थित एलएस न्युरो अस्पतालमा उपचाररत सहनीलाई बिहीबार भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै सांसद कानुले घरायसी विवादका क्रममा हातखुट्टा बाँधेर आरीले खुट्टा काट्ने जस्तो जघन्य अपराध गर्ने आरोपीलाई तत्काल पक्राउ गरी कडा कानुनी कारबाही गर्न प्रहरी प्रशासनसँग माग गरे।
घटनास्थलबाट प्रहरी सहायक निरीक्षक सञ्जय पाण्डेको टोलीले उद्धार गरी नारायणी अस्पताल पुर्याएकी सहनीलाई थप उपचारका लागि न्युरो अस्पताल सारिएको हो भने फरार रहेका आरोपी विश्वनाथको खोजी कार्य जिल्ला प्रहरी कार्यालय पर्साले तीव्र पारेको छ।
सांसद कानुले महिला हिंसा नियन्त्रणका लागि नीतिगत सुधारको आवश्यकता औँल्याउँदै आगामी संसद् अधिवेशनमा यस विषयलाई जोडदार रूपमा उठाउने आश्वासन समेत दिएका छन्।
