११ जेठ,काठमाण्डाैं । चीनले भारतलाई दलाई लामाको उत्तराधिकार र पुनर्जन्मको मुद्दाबाट टाढै रहन कडा चेतावनी दिँदै यसलाई पूर्ण रूपमा आफ्नो आन्तरिक मामिला भएको स्पष्ट पारेको छ ।
भारतस्थित चिनियाँ दूतावासकी प्रवक्ता यु जिंगले आइतबार एक वक्तव्य जारी गर्दै शताब्दीयौँ पुरानो धार्मिक रीतिरिवाज र ऐतिहासिक परम्पराअनुसार हुने दलाई लामाको पुनर्जन्म प्रक्रियाका लागि चीनको केन्द्रीय सरकारको स्वीकृति अनिवार्य हुने र यसमा कुनै पनि बाह्य हस्तक्षेप स्वीकार्य नहुने उल्लेख गरेकी छन् ।
दूतावासले भारतलाई तिब्बतसम्बन्धी आफ्नो पुरानो अडान सम्झाउँदै क्षेत्रीय स्थिरता र द्विपक्षीय सम्बन्धका लागि तिब्बती स्वतन्त्रतासँग सम्बन्धित गतिविधिहरूलाई कुनै मञ्च उपलब्ध नगराउन आग्रह गरेको छ ।
अर्कोतर्फ, सन् १९५९ देखि तिब्बतमा चिनियाँ शासनविरुद्धको असफल विद्रोहपछि भारतमा निर्वासनमा रहँदै आएका वर्तमान १४औँ दलाई लामाले भने आफ्नो उत्तराधिकारी चयनमा चीनको कुनै भूमिका नहुने बताउँदै आएका छन् ।
१३औँ दलाई लामाका चिह्न र निसानीहरू पहिचान गरेर बाल्यकालमै छानिएका वर्तमान दलाई लामाको उत्तराधिकारको विषय लामो समयदेखि भारत-चीन सम्बन्धमा एक संवेदनशील र विवादित मुद्दाका रूपमा रहँदै आएको छ।
