ईर्साद अन्सारी
२६ फागुन,काठमाण्डाैं । ग्यास विक्रेता महासंघ नेपालले बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने र तोकिएको मूल्यभन्दा बढी लिने जोकोहीलाई कडा कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै महासंघले मध्यपूर्वमा देखिएको अशान्तिका कारण भविष्यमा अभाव हुने चिन्ताले उपभोक्ताहरू मर्कामा परेको र यही मौका छोपी केही विक्रेताले अनुचित मूल्य लिएको समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।
यस्तो विषम परिस्थितिको फाइदा उठाएर उपभोक्ता ठग्नु गम्भीर अपराध भएको ठहर गर्दै महासंघले देशभरका विक्रेताहरूलाई गैरकानुनी कार्य नगर्न र जिम्मेवार भएर सेवा प्रवाह गर्न अपिल गरेको छ।
साथै, संकटका बेला ठगी गर्ने विक्रेता वा उद्योगीलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन सरकारसँग आग्रह गर्दै महासंघले आफ्ना सबै जिल्ला संघमार्फत देशभरका विक्रेताहरूलाई यसबारे सचेत गराउन निर्देशन समेत दिएको छ।
