८ चैत,काठमाण्डाैं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक धुम्बाराहीस्थित होटल स्मार्टमा सम्पन्न भएको छ, जसले आगामी केन्द्रीय समिति बैठक बोलाउने महत्त्वपूर्ण निर्णय गरेको छ।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई अस्वीकार गर्दै निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत पुगेको यो समूहले अदालतको अन्तिम फैसला नआएसम्म आफ्ना गतिविधि र छलफललाई निरन्तरता दिने भएको छ।
नेता मीन विश्वकर्माका अनुसार, आजको बैठकले चुनावी समीक्षा र आगामी रणनीति तय गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ भने त्यसको मिति तय गर्ने जिम्मेवारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पिएको छ।
बैठकमा शेखर कोइराला, शशांक कोइराला, विजय गच्छदार, प्रकाशमान सिंह र बालकृष्ण खाणलगायत करिब दुई दर्जन शीर्ष नेताहरूको सहभागिता रहेको थियो।
