ईर्साद अन्सारी
२१ फागुन,बारा । २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भई विजयी भएर नेकपा एमाले हुँदै हालै मात्र नेपाली कम्युनिस्ट पार्टी प्रवेश गरेका रौतहट–२ का उम्मेदवार किरण कुमार साहले पार्टी परित्यागको घोषणा गरेका छन्।
बिहीबार दिउँसो सामाजिक सञ्जाल फेसबुक लाइभमार्फत साहले जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा भइरहेको निर्वाचनमा विभिन्न स्थानमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह बनेको आरोप लगाउँदै पार्टीका प्रतिनिधिको रूपमा खटिएका व्यक्तिहरूलाई समेत फिर्ता बोलाएर आफू पार्टीबाट अलग भएको बताएका हुन्।
बहुसंख्यक हिन्दु भएको आफ्नो क्षेत्रमा चुनाव जित्ने सुनिश्चित स्थिति हुँदाहुँदै पनि सरकार र आफ्नै पार्टी नेतृत्वको लाचारीका कारण धाँधली भएको भन्दै उनले विवादित स्थानमा पुन: मतदान नगरेसम्म मतगणनामा समेत सहभागी नहुने स्पष्ट पारेका छन्।
