१७ फागुन,काठमाण्डाैं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा विकसित पछिल्लो तनावपूर्ण घटनाक्रमलाई दृष्टिगत गर्दै त्यहाँ रहेका करिब १७ लाख २९ हजार २८८ नेपाली नागरिकको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ ।
आइतबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले इरान, इजरायल, कतार, साउदी अरब र यूएई लगायतका देशमा रहेका नेपालीहरूको विवरण सार्वजनिक गर्दै सम्भावित संकट व्यवस्थापनका लागि परराष्ट्र सचिवको संयोजकत्वमा ‘बहु-सरोकारवाला आपतकालीन उद्धार टोली’ गठन प्रक्रिया सुरु भएको जानकारी दिनुभयो ।
पछिल्लो समय द्वन्द्वका कारण भिसा र टिकट भएर पनि विमानस्थलमा रोकिनुपर्ने, ट्रान्जिटमा अलपत्र पर्ने र रोजगारदातासम्म पुग्न नसक्ने जस्ता समस्या देखिएकाले मन्त्रालयले कन्सुलर सेवा विभागमार्फत अनलाइन रजिस्ट्रेसन प्लेटफर्म विकास गर्न निर्देशन दिनुका साथै नेपाली नियोगहरूसँग समन्वयका लागि ह्वाट्सएप ग्रुप समेत परिचालन गरेको छ ।
प्रभावित नेपालीहरूको उद्धार तथा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) र सम्बन्धित देशका अधिकारीहरूसँग निरन्तर संवाद भइरहेको र द्वन्द्वको अवस्था हेरेर सरकारले थप कदम चाल्ने मन्त्रालयले स्पष्ट पारेको छ ।
