निर्वाचन आचारसंहिता पालना गर्दै होली मनाउन बारा प्रशासनको आग्रह

छानबिन न्यूज
पाठक संख्या 226
1 Min Read

१५ फागुन,बारा ।  जिल्ला प्रशासन कार्यालय बाराले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को मौन अवधिमा फागु पूर्णिमा (होली) परेको भन्दै निर्वाचन आचारसंहिता र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गरी सभ्य रूपमा पर्व मनाउन जिल्लावासीलाई आह्वान गरेको छ।

सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी विज्ञप्तिमा निर्वाचनको स्वच्छता कायम राख्न होलीका अवसरमा भीडभाडजन्य कार्यक्रम नगर्न, राजनीतिक दलको लोगो वा उम्मेदवारको फोटो अंकित टिसर्ट प्रयोग नगर्न र आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरिएको छ।

प्रशासनले कसैको इच्छाविपरीत रङ दल्ने, लोला हान्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने, चर्को आवाजमा डिजे बजाउने तथा पटका पड्काउनेजस्ता उच्छृङ्खल र गैरकानुनी क्रियाकलाप नगर्न सचेत गराउँदै सम्भव भएसम्म घरपरिवारभित्रै होली मनाउन अनुरोध गरेको छ।

धार्मिक सद्भाव र सामाजिक सौहार्दता कायम राख्दै मर्यादित रूपमा पर्व मनाउन आग्रह गरिएको यस सूचनाको उल्लंघन गरी कानुन र आचारसंहिता विपरीतका कार्य गरेमा कडा कारबाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ।

प्रतिक्रिया
शेयर