९ फागुन,गाैर । रौतहटको गौर नगरपालिका–६, सवगढामा शुक्रबार भएको ६ बुँदे सहमति उल्लंघन गर्दै शनिबार बिहान पुनः दुई समुदायबीच झडप भएपछि स्थिति तनावग्रस्त बनेको छ।
बौधिमाई नगरपालिका–९ सरमुजवाबाट सवगढातर्फ आउँदै गरेको विवाहको जन्तीले मस्जिद अगाडि बाजा बजाएको विषयलाई लिएर सुरु भएको विवादले उग्र रूप लिँदा शनिबार बिहान करिब ९ बजेदेखि दुवै पक्षबीच ढुंगा–मुढा सुरु भएको थियो।
यसअघि जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालको उपस्थितिमा सामाजिक सद्भाव कायम गर्ने र आगामी २१ गते हुने निर्वाचनमा सबैको सहभागिता सुनिश्चित गर्नेलगायतका सहमति भए तापनि बिहानै चार–पाँच सयको भीड जम्मा भई झडपमा उत्रिएपछि अवस्था नियन्त्रण बाहिर जान लागेको थियो।
गएरातिको झडपमा परी घाइते भएका ६ जनाको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ भने शनिबारको तनावलाई शान्त पार्न सुरक्षाकर्मीले १२ राउण्ड हवाई फायर र ४० राउण्ड अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप वस्यालले जानकारी दिए ।
हाल जिल्ला प्रहरी प्रमुख सिताराम रिजाल र सशस्त्र प्रहरीका रामहरी अधिकारी स्वयं घटनास्थलमा खटिएर कमाण्ड सम्हाफेका छन,भने स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको ठुलो संख्या परिचालन गरिएको छ।
