ईर्साद अन्सारी
२६ पुस,काठमाण्डाै नेपाली पत्रकारिता क्षेत्रका भीष्म पितामह तथा प्रजातान्त्रिक आन्दोलनका अविचलित यात्री होमनाथ दाहालको ८४ वर्षको उमेरमा भएको असामयिक निधनले यतिबेला सिंगो मुलुक र पत्रकारिता जगत स्तब्ध बनेको छ।
बिपी कोइरालाको विचारलाई जीवनको आदर्श मानेर नागरिक स्वतन्त्रताका लागि अविराम लडिरहेका दाहालले पुस २५ गते साँझ उपचारका लागि अस्पताल लैजाँदै गर्दा अन्तिम श्वास फेरेका हुन्, जसले गर्दा लोकतान्त्रिक आन्दोलन र कलमको यात्रामा कहिल्यै पुरिन नसक्ने रिक्तता सिर्जना भएको छ।
आफ्नी जीवनसंगिनी सुधा दाहाल अस्पतालको शय्यामा उपचाररत रहँदा र सन्तानहरू वियोगको गहिरो पीडामा डुबिरहँदा, मैतीदेवीस्थित निवासबाट पशुपति आर्यघाटको अन्तिम यात्रा तय हुनुअघि उहाँको पार्थिव शरीरले नेपाली समाजलाई एउटा अटल निष्ठा र त्यागको कथा सुनाइरहेको भान हुन्छ।
उहाँको भौतिक शरीर आज पशुपतिको पावन तटमा अग्निमा विलीन भए पनि, उहाँले पत्रकारिता र सामाजिक चेतनाका माध्यमबाट बालेको प्रजातन्त्रको दियो आउने पुस्ताका लागि सधैँ मार्गदर्शक बनिरहनेछ।
