जेन्जी आन्दोलनका क्रममा जेलमुक्त भएर भागेका कर्तव्य ज्यान मुद्दाका अभियुक्तसहित ६ जना लागुऔषधसहित पक्राउ
२२ भदाै,काठमाडौं । लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट फरार भएका कर्तव्य ज्यान मुद्दाका अभियुक्तसहित ६ जना पक्राउ परेका छन्।
लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं उपत्यकाका विभिन्न स्थान तथा पर्सामा सञ्चालन गरेको छुट्टाछुट्टै अपरेसनका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले उनीहरूको साथबाट २२९.७८० ग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ। ब्यूरोका अनुसार २०८३ भदौ १८ गते गुल्मी घुर्कोट गाउँपालिका–१ का ३० वर्षीय कस्मिर भुषाल र काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१२ का २९ वर्षीय निशान्त रसाईली पक्राउ परेका थिए।
उनीहरूको साथबाट ७५.७८० ग्राम खैरो हेरोइन बरामद भएको थियो। यस्तै, भदौ २० गते पर्सा छिपहरमाई गाउँपालिका–५ का ४० वर्षीय उपेन्द्र कुमार, काठमाडौं गोकर्णेश्वर नगरपालिका–६ का २७ वर्षीय अभिषेक तामाङ, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ की २० वर्षीया सरला कार्की र भारत मोतिहारी जिल्ला कल्वारी दुवाह थानाका २१ वर्षीय राहुल प्रसाद पक्राउ परेका छन्।
उनीहरूको साथबाट १५४ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका निशान्त रसाईली २०७४ असार १२ गते कर्तव्य ज्यान तथा डाँका चोरी मुद्दामा प्रहरी वृत्त महाराजगञ्जबाट पक्राउ परी कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा भीमफेदी कारागारबाट भागी फरार भएको अभिलेखबाट खुलेको ब्यूरोले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट खैरो हेरोइनसँगै २ थान डिजिटल तराजु, नगद १ लाख ६० हजार रुपैयाँ र ६ थान मोबाइल फोन समेत बरामद गरेको छ। घटनाबारे लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले थप अनुसन्धान गरिरहेको जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो
0
मन परेन
0
माया लाग्दो
0
हास्यास्पद
0
आक्रोशित
0
दु:खद
0
क्या राम्रो
0