कोशीका १४ जिल्लाका प्रहरी प्रमुखलाई डीआईजी खनालको निर्देशन

Sep 7, 2026 - 18:09
 0  10
कोशीका १४ जिल्लाका प्रहरी प्रमुखलाई डीआईजी खनालको निर्देशन

२२ भदाै,विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखसँग साउन महिनाको कार्यसम्पादनको समीक्षा गर्दै आवश्यक निर्देशन दिएका छन्।

भदौ २२ गते भर्चुअल माध्यमबाट भएको समीक्षामा कार्यसम्पादन सम्झौताअनुसार साउन महिनामा जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट भएका कार्यप्रगतिको समीक्षा गरिएको थियो। कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमल्सिनाले १४ वटै जिल्लाको कार्यसम्पादनको तुलनात्मक विवरण प्रस्तुत गरेका थिए।

 समीक्षापछि जिल्ला प्रहरी प्रमुखहरूलाई निर्देशन दिँदै डीआईजी खनालले तालुक कार्यालय तथा प्रदेश प्रहरी कार्यालयबाट दिइएका निर्देशन अक्षरशः पालना गर्दै कार्यसम्पादन सम्झौतामा उल्लेखित बुँदाअनुसार लक्ष्य हासिल गर्न निर्देशन दिएका थिए।

उनले प्रहरी कार्यालयमा आउने सेवाग्राही, प्राप्त निवेदन तथा उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न तथा महिला र बालबालिकासँग सम्बन्धित उजुरीमा संवेदनशील भएर विशेष ध्यान दिन निर्देशन दिएका थिए।

 त्यसैगरी, चौकी तहसम्मका प्रहरी कार्यालयमा फरार प्रतिवादीहरूको विवरण उपलब्ध गराई विशेष सक्रियताका साथ पक्राउ गर्न तथा खुला सीमाका कारण हुनसक्ने भन्सार छली, चोरी–तस्करी, लागूऔषधको प्रयोग तथा ओसारपसार नियन्त्रणका लागि प्रभावकारी रूपमा प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका थिए।

 सवारी दुर्घटना न्यूनीकरणका लागि कार्ययोजना बनाएर ट्राफिक जनचेतना अभिवृद्धि गर्न, यातायात व्यवसायी, स्थानीय तह तथा विभिन्न संघसंस्थासँग सहकार्य गरी प्रभावकारी प्रहरी परिचालन गर्न र ट्राफिक नियम उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही गर्नसमेत खनालले निर्देशन दिएका थिए।

विपद्का घटना जुनसुकै अवस्थामा हुनसक्ने भएकाले आवश्यक सामग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिएका थिए। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी सुरक्षा योजना निर्माण गरेर प्रभावकारी प्रहरी परिचालन गर्दै आपराधिक गतिविधि नियन्त्रणमा विशेष ध्यान दिन निर्देशन दिएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्यो मन पर्यो 0
मन  परेन मन परेन 0
माया लाग्दो माया लाग्दो 0
हास्यास्पद हास्यास्पद 0
आक्रोशित आक्रोशित 0
दु:खद दु:खद 0
क्या राम्रो क्या राम्रो 0