गृहमन्त्रीको निरीक्षण र दर्शनमै बित्यो समय: निजगढमा मिटरब्याज पीडितसँगको निर्णायक वार्ता अझै सुरु हुन सकेन

छानबिन न्यूज
पाठक संख्या 100
2 Min Read
Oplus_16908288

३१ असार,बारा ।  जनकपुरबाट सङ्घीय राजधानी काठमाडौँका लागि पैदल यात्रा तय गर्दै करिब सय किलोमिटरको कष्टकर बाटो पार गरेर गत सोमबार बाराको निजगढ आइपुगेका मिटरब्याज पीडितहरू र गृहमन्त्री सुधन गुरुङबीच बुधबार मध्यान्ह १२ बजेका लागि तय गरिएको निर्णायक वार्ता गृहमन्त्रीको अनुपस्थितिका कारण अहिलेसम्म सुरु हुन सकेको छैन।

यसअघि मङ्गलबार निजगढबाट अगाडि बढ्न लाग्दा प्रहरीले रोकेर गृहमन्त्री आफैँ भेट्न आउने र वार्ता गर्ने जानकारी दिएपछि करिब दुई सय मिटर अगाडि बढिसकेका पीडितहरू पुनः आफ्नो रातिबास बसेकै ठाउँमा फर्किएका थिए भने हिजो हवाई मार्गबाट निजगढ आइपुगेका गृहमन्त्री गुरुङसँग दुई चरणमा वार्ता भए तापनि कुनै ठोस निष्कर्ष भने निस्कन सकेको थिएन।

आज बुधबारको वार्ताबाट समस्या समाधान हुने आशा राखिए पनि गृहमन्त्री गुरुङ दिनभर जेन्जीसँगको भेटघाट, सिर्सिया नदी प्रदूषणको स्थलगत निरीक्षण, जगदम्बा लगायतका स्थानीय उद्योगहरूको अनुगमन तथा पर्सा राष्ट्रिय आरक्ष क्षेत्रमा अवस्थित दुग्धेश्वर महादेवको दर्शन एवं पूजाआजामा व्यस्त भएपछि वार्ता स्थलमा आउन नसक्ने बुझिएको छ।

जुन मुख्य समस्या समाधान गर्ने उद्देश्यका साथ गृहमन्त्री यहाँ आएका हुन , त्यस कार्यलाई थाती राखेर अन्य भ्रमण र निरीक्षणमा अल्झिएका कारण गृहमन्त्रीले मिटरब्याजको गम्भीर मुद्दालाई प्राथमिकतामा नराखेको गुनासो गर्दै एक पीडितले आक्रोश व्यक्त गरेका छन् ।

गृहमन्त्रीको यस्तो व्यवहारबाट आन्दोलनरत पीडितहरू सशङ्कित बने तापनि न्याय पाउने अन्तिम आशाका साथ अझै पनि धैर्यतापूर्वक वार्ताकै प्रतीक्षामा बसिरहेका छन्। याे समाचार तैयार पार्दा सम्म गृहमन्त्री गुरूङ बार्ता स्थल नपुगेकाे स्थानिय सञ्चारकर्मि ईन्दिप काेईरालाले बताए ।

प्रतिक्रिया
शेयर