आचारसंहिता पालना गरे मात्रै पत्रकारिता जनउत्तरदायी र सत्यनिष्ठ बन्छ: पूर्वमुख्यमन्त्री सोनल

छानबिन न्यूज
पाठक संख्या 25
2 Min Read
oplus_32

२ असार,बारा । ​मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको मिडिया काउन्सिलद्वारा बाराको सदरमुकाम कलैयामा “स्वच्छ, विश्वसनीय र मर्यादित पत्रकारिताका लागि आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ।

मिडिया काउन्सिल मधेश प्रदेशकी कार्यवाहक अध्यक्ष बन्दना झाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले लोकतन्त्रको सुदृढीकरण, सुशासन प्रवर्द्धन तथा नागरिकलाई सही र तथ्यपरक सूचना उपलब्ध गराउन पत्रकारिताको भूमिका महत्वपूर्ण रहने उल्लेख गरेका छन ।

उनले सञ्चारकर्मीले पेशागत मूल्य-मान्यता र आचारसंहितालाई आत्मसात् गरेर अघि बढे मात्रै पत्रकारिता जनउत्तरदायी, सत्यनिष्ठ र निष्पक्ष बन्ने कुरामा विशेष जोड दिए । बारा जिल्लाका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले मुख्य सहजीकरण गर्दै पत्रकारिता आचारसंहिता, सञ्चार क्षेत्रका समकालीन चुनौती, डिजिटल युगको बदलिँदो स्वरूप र व्यावसायिक पत्रकारिताका विविध आयामबारे प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणकै क्रममा सहजकर्ता झाले अफवाह, अपुष्ट सूचना तथा सामाजिक सञ्जालको गैरजिम्मेवार प्रयोगबाट जोगिन पत्रकारहरू सचेत हुनुपर्ने भन्दै तथ्य र प्रमाणमा आधारित समाचार सम्प्रेषणमा विशेष जोड दिएका छन ।

यसैगरी कार्यवाहक अध्यक्ष बन्दना झाले काउन्सिलले प्रदेशका विभिन्न जिल्लामा पत्रकारहरूको क्षमता अभिवृद्धि र व्यावसायिक दक्षता विकासका लागि यस्ता अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिँदै आएको जानकारी गराएकिछिन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सिकेन्द्र पास्वान र नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदीले यस कार्यक्रमबाट पत्रकारिता आचारसंहिता, व्यावसायिक नैतिकता र वर्तमान चुनौतीबारे महत्वपूर्ण जानकारी प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

मिडिया काउन्सिलका प्रशासकीय अधिकृत ओमबिक्रम कटुवालले सञ्चालन गरेकाे उक्त कार्यक्रममा उपस्थित सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई श्याम बन्जाराले स्वागत गरेका थिए ।

मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष झा र सहजकर्ता झाले सहभागी सबै सञ्चारकर्मिहरूलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

अभिमुखीकरणले पत्रकारितामा स्वच्छता, निष्पक्षता र मर्यादा कायम राख्दै जिम्मेवार सञ्चार अभ्यासलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

oplus_0
oplus_0
प्रतिक्रिया
शेयर