३० पुस,काठमाण्डाैं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन रहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणका अभियोगहरू फिर्ता लिन सम्बन्धित सरकारी वकिलहरूलाई स्वीकृति दिएको छ।
महान्यायाधिवक्ता सबिता भण्डारी बरालले बुधबार कास्की, रुपन्देही, काठमाडौं र पर्साका जिल्ला अदालतमा चलिरहेका अभियोगपत्र संशोधन गर्न स्वीकृति दिने निर्णय गरेकी हुन् ।
जसअनुसार कास्कीमा सम्पत्ति शुद्धिकरण र संगठित अपराध तथा अन्य तीन जिल्लामा संगठित अपराधको मुद्दा फिर्ता हुनेछ।
यद्यपि, महान्यायाधिवक्ता बरालले यो कदमलाई पूर्ण रूपमा मुद्दा फिर्ता लिएको नभई आरोपपत्र संशोधनको रूपमा बुझ्नुपर्ने र सहकारी ठगीको मूल मुद्दा यथावत् रहने स्पष्ट पारेकी छन्।
यस प्रक्रियामा चितवन जिल्ला अदालतमा भने संगठित अपराध र सम्पत्ति शुद्धिकरण सम्बन्धी कुनै मुद्दा दर्ता नभएकाले त्यहाँको अभियोगपत्रमा कुनै संशोधनको निर्णय गरिएको छैन।
