जग्गा विवादले उग्र रूप लिँदा रौतहटमा चक्कु प्रहारबाट एक जनाको मृत्यु

छानबिन न्यूज
पाठक संख्या 81
1 Min Read
Oplus_16908288

ईर्साद अन्सारी

२४ असार,बारा ।  रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी पुरानो विवाद हिंसात्मक बन्दा चक्कु प्रहारबाट ६० वर्षीय वुटन साहको मृत्यु भएको छ ।

 उनका ८० वर्षीय ससुरा रामबहादुर साह गम्भीर घाइते भएका छन्। ईशनाथ नगरपालिका–१ बन्जरहा स्थायी घर भई औरैयास्थित ससुराको घरमा बस्दै आएका वुटनको पिठ्युमा गम्भीर चोट लागेको थियो, जसका कारण प्रादेशिक अस्पताल गौर पुर्‍याएलगत्तै चिकित्सकले उनलाई मङ्गलबार राति मृत घोषणा गरेका थिए।

टाउकोमा चोट लागेका वृद्ध ससुरा रामबहादुरको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। लामो समयदेखि चल्दै आएको जग्गाको स्वामित्वसम्बन्धी विवादले उग्र रूप लिँदा सो दुःखद घटना घटेको स्थानीयले बताएका छन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार घटनामा संलग्न रहेको आरोपमा २६ वर्षीय राममहेश्वर साह र उनका ६३ वर्षीय बाबु रामाऔतार साहलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया
शेयर