३० जेठ,काठमाण्डाैं । भारतको असम राज्यस्थित जोरहाट एयर फोर्स स्टेशनमा शनिबार भारतीय वायु सेनाको एएन–३२ सैन्य यातायात विमान अवतरण (ल्याण्डिङ) गर्ने क्रममा दुर्घटनाग्रस्त हुँदा दुई अधिकारी र दुई अग्निवीरवायु सहित पाँच वायुसेना जवानको मृत्यु भएको छ ।
भारतीय वायु सेनाले सामाजिक सञ्जाल एक्समार्फत दुर्घटनामा ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र अग्निवीरवायु दानिश आलम रहेको विवरण सार्वजनिक गर्दै उनीहरूले कर्तव्य निर्वाहका क्रममा सर्वोच्च बलिदान दिएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।
वायु सेनाका प्रवक्ता विङ कमाण्डर जयदीपका अनुसार दुर्घटनालगत्तै विमानमा आगलागी समेत भएको थियो भने हाल दुर्घटनास्थलमा उद्धार तथा व्यवस्थापन कार्य जारी रहनुका साथै घटनाको वास्तविक कारण पत्ता लगाउन ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरी अनुसन्धान सुरु गरिएको छ ।
वायु सेनाले शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रारम्भिक अनुसन्धान भइरहेकाले यसको निष्कर्ष नआउँदासम्म सर्वसाधारणलाई कुनै पनि अड्कलबाजी नगर्न अनुरोध समेत गरेको छ ।
