२९ जेठ,बारा । बाराको मटिअर्वा नाका पछिल्लो समय कबाड ओसार्ने बहानामा प्रतिबन्धित तथा भन्सार छलीका चिनियाँ फर्सीको बीउ, स्याउ, लसुन, कस्मेटिक जस्ता सामग्री अवैध रूपमा भित्र्याउने मुख्य केन्द्र बनेको भन्दै स्थानीयले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
अन्तर्राष्ट्रिय नियम विपरीत भारतिय तस्कर माेजामिल र नेपाली सहयाेगि स्यामले दशगजामै कबाडी गोदामहरू सञ्चालन भइरहँदा पनि नेपाली प्रशासन निरीह र मूकदर्शक बनेको छ भने ‘माल पाएपछि चाल नपाउने’ प्रवृत्तिका कारण सीमा सुरक्षा र राजस्व संकलनमा ठुलो धक्का पुगेको दाबी स्थानीयको छ।
बाराका मटिअर्वा लगायतका अधिकांश नाकाहरूबाट केरा, माछा, चकलेट, हार्डवेयरदेखि लागुऔषधसम्मका वस्तुहरू निर्वाध रूपमा तस्करी भइरहँदा हालै अमलेखगञ्जमा अवैध केरा समातिएको घटनाले ‘नाकाबाट सामान उडेर अमलेखगञ्ज पुगेको हो?भन्दै जनताले स्थानीय प्रशासनमाथि तीखो प्रश्न तेर्स्याएका छन्।
यसरी भन्सार विन्दुमा सुरक्षा जाँच छलेर सामान भित्रिँदा पनि नाकामा खटिएका कमान्डर र जिल्लाका सुरक्षा प्रमुखहरूमाथि कारबाही हुनुको साटो साना कर्मचारीलाई मात्र बलि चढाएर ठुलालाई उन्मुक्ति दिने परिपाटीले पुरानो र नयाँ व्यवस्थामा के फरक भयो भनी आम नागरिकले प्रश्न गरिरहेका छन्।
स्थानीयका अनुसार विगतमा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री हुँदा सीमा सुरक्षामा कडाइ भई सियो पनि अवैध रूपमा छिर्न नसकेको अवस्था स्मरण गर्दै अहिले भने सुरक्षा निकायले बेलाबेला केही सामान समातेर ‘हन्डी खाने’ पत्रकारहरू मार्फत सस्तो प्रचारबाजी (प्रहसन) गराउने र हाकिमहरूका लागि अवैध असुलीको भाँडो बनाउने खेल चलिरहेको आरोप लगाएका छन्।
बारा लगायत समग्र मधेशका कुनै पनि नाका अहिले तस्करीको चंगुलबाट अछुतो नरहेको दाबी गर्दै स्थानीय बासिन्दाले यो बेथिति र नाटक तत्काल रोक्न माग गरेका छन् भने वर्तमान गृहमन्त्री सुदन गुरुङको ‘दूरबिन’ अब मधेशका यस्ता संवेदनशील सीमा नाकातर्फ सोझिएर कडा कदम चालियोस् भनी गम्भीर ध्यानाकर्षण गराएका छन्।
