२४ चैत,बुटवल । रुपन्देहीको रोहिणी गाउँपालिका-४ कोटहवामा लागूऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्न खोज्दा भाग्न खोजेपछि गोली चलाउँदा एक जना घाइते भएका छन् भने तीन जना पक्राउ परेका छन्।
युपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिहरूलाई नियन्त्रणमा लिने क्रममा प्रहरीमाथि ढुंगा प्रहार भएपछि आत्मरक्षाका लागि एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गर्दा रुपन्देहीका विशाल यादव बायाँ खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका हुन्।
घाइते यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ भने उनीसँगै भारत महाराजगञ्जका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई प्रहरीले ११००-११०० एम्पुल फेनरागन, डाइजेपाम र ब्रुफिनसहित नियन्त्रणमा लिएको छ।
यस्तै, लागूऔषध कारोबारकै आशंकामा प्रहरीले काठमाडौंको गौशाला-पिंगलास्थान क्षेत्रबाट पनि गोली चलाएर अन्य दुई जना भारतीय नागरिकलाई पक्राउ गरी दुवै घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ।
