महिला अधिकार र सशक्तीकरणका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री शाह

छानबिन न्यूज
पाठक संख्या 17
1 Min Read
Oplus_16908288

१६ जेठ,काठमाण्डाैं । आठौँ राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा ‘महिला अधिकारको सम्मानः आत्मनिर्भरता र समृद्धिको अभियान’ भन्ने नाराका साथ शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री वालेन्द्र शाह र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री शाहले नेपालको संविधानले महिलाको हकलाई मौलिक हकका रूपमा सुनिश्चित गर्दै राज्यका सबै निकायमा समानुपातिक, समावेशी प्रतिनिधित्व र अर्थपूर्ण सहभागिताको प्रत्याभूति गरेको उल्लेख गर्दै बालविवाह, बोक्सी प्रथा, छाउपडी, दाइजो तथा तिलकलगायतका कुप्रथा र लैङ्गिक, घरेलु तथा डिजिटल हिंसाको अन्त्यका लागि कानुनी व्यवस्थासँगै सामाजिक चेतना अभिवृद्धि आवश्यक रहेको औँल्याएका छन् ।

यसैगरी आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका महिलाको सशक्तिकरणमार्फत आत्मनिर्भर र समृद्ध समाज निर्माण गर्नुपर्नेमा जोड दिँदै मन्त्री सीता बादीले पनि महिला अधिकारको विषय केवल कानुनी व्यवस्था वा नीतिगत घोषणामा मात्र सीमित नभई सामाजिक व्यवहार, अवसरको समान पहुँच र सम्मानजनक सहभागितासँग जोडिएको प्रस्ट पारेकी छन् ।

 महिला अधिकारको संरक्षण, लैङ्गिक समानता र सामाजिक रूपान्तरणका लागि राज्य, समुदाय, सरोकारवाला र नागरिक समाजबीचको सक्रिय सहकार्य अपरिहार्य रहेको दुवै जनाले आफ्नो सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया
शेयर