५० युनिटभन्दा बढी विद्युत् खपतमा कर: ‘निर्णयले भान्सा महँगो बनाउने’ कुलमानको दाबी

छानबिन न्यूज
पाठक संख्या 31
1 Min Read
Oplus_16908288

१६ जेठ,काठमाण्डाैं । उज्यालो नेपाल पार्टीका अध्यक्ष एवम् पूर्वऊर्जामन्त्री कुलमान घिसिङले सरकारले बजेटमार्फत ल्याएको मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने निर्णय तुरुन्त फिर्ता लिन माग गरेका छन्।

शुक्रबार प्रस्तुत बजेटमा समेटिएको उक्त व्यवस्थाप्रति सामाजिक सञ्जालमा वक्तव्य जारी गर्दै उनले यो कदम आम उपभोक्ताको हित, ऊर्जा रूपान्तरणको लक्ष्य तथा स्वदेशमै उत्पादित स्वच्छ ऊर्जाको उपयोग बढाउने राष्ट्रिय अभियानविपरीत रहेको टिप्पणी गरे।

मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने अधिकांश सामान्य घरायसी उपभोक्ता रहेको उल्लेख गर्दै घिसिङले नयाँ करले लाखौं परिवारको मासिक खर्च बढाउने, भान्सा अझ महँगो बन्ने र विद्युत् पहुँच विस्तारसँगै घरायसी प्रयोजनमा खपत बढिरहेको अवस्थामा उपभोक्तालाई अतिरिक्त भार थपेर दण्डित गर्ने प्रयास भएको आरोप समेत लगाए।

खाना पकाउने, पानी तताउने जस्ता घरेलु प्रयोजनमा विद्युतको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बेला सरकारले उल्टै निरुत्साहित गर्ने कदम चालेको बताउँदै उनले यसले विद्युतीय चुलोलगायत उपकरणको प्रयोग घटाएर पुनः एलपी ग्यासतर्फ नै निर्भरता बढाउन सक्ने तर्क गर्दै स्वदेशमै उत्पादित विद्युतको खपत बढाउन प्रोत्साहनमूलक नीति ल्याउनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया
शेयर