सिम्रौनगढमा ‘महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र’ भवनको समुद्घाटन: “प्रहरीसँग डराउनु पर्दैन, बिचौलियाको वैशाखी नटेक्नुस्” – प्रहरी महानिरीक्षक दान बहादुर कार्की ​

छानबिन न्यूज
पाठक संख्या 47
3 Min Read

३० बैसाख,बारा । ​इलाका प्रहरी कार्यालय सिम्रौनगढको परिसरमा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको एक भव्य समारोहका बीच नेपाल प्रहरीका संगठन प्रमुख, प्रहरी महानिरीक्षक (IGP) दान बहादुर कार्कीले समुद्घाटन गर्नुभएको छ।

“कानून भन्दा कोही छैन माथी, सुख-दुःखमा प्रहरी नै साथी” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै महानिरीक्षक कार्कीले प्रहरी र नागरिकबीचको सम्बन्ध सुमधुर भए मात्र समाजमा शान्ति र न्यायको ताली बज्ने बताएका छन ।

उनले सिम्रौनगढको ऐतिहासिक हाताभित्र बनेको यो भवन कुनै सरकारी संरचना मात्र नभई स्थानीय “हमार सबके वा” (हामी सबैको हो) भन्ने भावनाका साथ संरक्षण र उपयोग गर्न आग्रह गरे ।

विशेषगरी सेवा केन्द्रमा आउने बालबालिका, महिला र ज्येष्ठ नागरिकहरूलाई कुनै पनि प्रकारको भेदभाव नगरी सेवा प्रवाह गर्न निर्देशन दिँदै उनले भन्ने, “हाम्रो भावना जतिसुकै सुन्दर भए पनि यदि मन सफा छैन र व्यवहारमा सुशासन छैन भने त्यसको कुनै अर्थ रहँदैन।

” महानिरीक्षक कार्कीले तराई-मधेशमा व्याप्त ‘पञ्चायती’ को नाममा पीडितलाई बोल्न नदिने र बिचौलियाहरूले प्रहरीसँग चिया खाएको वा हाकिम मिलाइदिने बहानामा रकम असुल्ने प्रवृत्तिप्रति कडा प्रहार गर्दै प्रहरी कार्यालयमा आफ्ना समस्या राख्न कसैको ‘वैशाखी’ टेक्नु नपर्ने र हुल ल्याउनु नपर्ने स्पष्ट पारेका छन ।

उनले पीडितको गोपनीयता र सुरक्षाको पूर्ण ग्यारेन्टी गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशित गर्दै प्रहरी जहिले पनि कमजोर र असहायको सहारा बन्नुपर्नेमा जोड दिए ।

​कुल २ करोड ५१ लाख ४२ हजार ५ सय ३४ रुपैयाँ २८ पैसाको लागतमा लामा कन्स्ट्रक्सन कम्पनीले निर्माण गरेको १४०० वर्ग फिट क्षेत्रफलको उक्त दुईतले भवनमा कार्यालय प्रमुख कक्ष, परामर्श कक्ष, पीडित आश्रय कक्ष, बालबालिका कक्ष, र कर्मचारी ब्यारेकसहितका आधुनिक सुविधाहरू रहेका छन्। UNOPS को सहयोगमा निर्मित यस भवनको प्राविधिक प्रतिवेदन सिनियर इन्जिनियर शिशिर उपाध्यायले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने मधेश प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक (DIG) गोविन्द थपलियाले प्रमुख अतिथिलाई कृतज्ञताको चिनो प्रदान गर्दै धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रममा सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवार, पचरौता नगरपालिकाका मेयर जलन्धर सिंह, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, स्थानीय भद्रभलाद्मी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। अपराधविहीन समाजको परिकल्पना साकार पार्न दक्ष र शिक्षित नागरिकको भूमिका महत्वपूर्ण हुने बताउँदै महानिरीक्षक कार्कीले भवन अवलोकन पश्चात् उल्लेखनीय योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई प्रशंसा पत्र समेत वितरण गरिएकाे थियाे ।

प्रतिक्रिया
शेयर