बंकुल नाकामा सुरक्षा निकायकै ‘लाइन’: रात परे पछि तस्करको कब्जामा सीमा, डिआईजी र एसपीको नाममा असुली धन्दा तीव्र

छानबिन न्यूज
पाठक संख्या 89
2 Min Read
Oplus_16908288

२८ बैसाख,बारा ।   वैशाख २६ गते बंकुलसहितका नाकाबाट व्यापक तस्करी भइरहेको समाचार सार्वजनिक भए पनि रौतहटको सीमावर्ती क्षेत्रमा बेथिति रोकिनुको साटो झन् संस्थागत बन्दै गएको पाइएको छ ।

पहिलो सुरक्षा घेरामा रहेको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सेटिङका कारण राज्यको उपस्थिति तस्करीको सहजकर्तामा सीमित हुन पुगेको छ।

दिनभर सामान्य देखिने बंकुल नाका रातको १२ बजेपछि पूर्ण रूपमा तस्करहरूको कब्जामा जाने गरेको र भारतीय बजार घोडासहन तथा चैनपुरबाट कपडा, सुर्ती, मदिरा र मेसिनरी पार्टपुर्जाहरू दर्जनौँ मोटरसाइकल र साइकलमा लोड भई निर्बाध रूपमा नेपाल भित्रिरहँदा पनि बीओपी बंकुलका सशस्त्र प्रहरी निरीक्षक (सप्रनि) नवीन अली र प्रहरी चौकी बंकुलको मौनताले तस्करीमा प्रशासनकै प्रत्यक्ष लगानी र संरक्षण रहेको पुष्टि गर्दछ।

विशेष गरी सप्रनि अलीले तस्करीको ‘लाइन’ मिलाउन र आर्थिक कारोबार व्यवस्थापन गर्न आफ्ना विश्वासपात्र वरिष्ठ हवलदार रामजनम यादवलाई परिचालन गरेको स्थानीय स्रोतको दाबी छ ।

 यादवले सशस्त्र प्रहरीका जिल्लास्थित एसपी र मधेश प्रदेशका डिआईजीसम्मको ‘भाग’ पुर्‍याउनुपर्ने भन्दै तस्करहरूबाट मोटो रकम असुल गरिरहेका छन् भने अमजित साह, मिश्रिलाल, मोहन कुशवाहा र राजु जयसवाल जस्ता नेपाली तस्कर तथा श्यामसुन्दर र सन्तोष जस्ता भारतीय कारोबारीहरूले प्रशासनको आडमा सिमानालाई अवैध व्यापारको सुरक्षित अखडा बनाएका छन्।

यसबारे ‘छानबिन न्यूज’ ले प्रश्न गर्दा सप्रनि अलीले तस्करीलाई सामान्यीकरण गर्दै ‘कोल्ड ड्रिङ्क्स मात्र आउने गरेको’ दाबी गरेर पन्छिन खोज्नुले फिल्डमा भइरहेको ताण्डवलाई लुकाउने प्रयास गरेको प्रष्ट हुन्छ, जसमा एकातिर घरायसी सामान ल्याउने सर्वसाधारणले सीमामा सास्ती र अपमान सहनुपर्ने तर अर्कोतिर राज्यको बर्दीधारी टोली नै ठूला तस्करका अगाडि निरीह र मतियार बनेर उभिँदा सीमामा ‘सरकारको होइन, तस्करको राज’ रहेको सन्देश प्रवाह भइरहेको छ।

प्रतिक्रिया
शेयर