२४ बैसाख,काठमाण्डाैं । भारतको पश्चिम बंगालमा विधानसभा निर्वाचनको नतिजा सार्वजनिक भएपश्चात राजनीतिक हिंसा तीव्र बनेको छ, जसका कारण हालसम्म पाँच जनाले ज्यान गुमाइसकेका छन् ।
मारिनेहरूमा सत्तारुढ भाजपाका तीन र तृणमूल कांग्रेस (टीएमसी) का दुई कार्यकर्ता रहेका छन् भने पछिल्लो पटक उत्तर २४ परगनाको मध्यमग्राममा भाजपा नेता शुभेन्दु अधिकारीका पीए चन्द्रनाथ रथको गोली हानी विभत्स हत्या भएको छ ।
रथ आफ्नो स्कार्पियोमा घर फर्किरहेका बेला बाइक र कारमा आएका आक्रमणकारीहरूले अस्ट्रेलियाली ग्लक पेस्तोलबाट अन्धाधुन्ध गोली प्रहार गर्दा उनको छाती र पेटमा गम्भीर चोट लागेर मृत्यु भएको हो भने सोही गाडीमा रहेका चालक र अर्का एक व्यक्ति समेत घाइते भएका छन् ।
यसैगरी बसिरहाट जिल्लामा अर्का एक भाजपा कार्यकर्तामाथि पनि गोली प्रहार भएको खबर आएको छ । भाजपाले यस रक्तपातपूर्ण घटनाको पछाडि टीएमसीको हात रहेको आरोप लगाएको छ भने टीएमसीले उक्त आरोप अस्वीकार गर्दै निष्पक्ष सीबीआई अनुसन्धानको माग गरेपछि राज्यको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ ।
