सिम्रौनगढ वडा कार्यालय भवन निर्माणमा अनियमितता: मापदण्डविपरीत राति नै छत ढलान, स्थानीयद्वारा विरोध

छानबिन न्यूज
पाठक संख्या 226
1 Min Read

२३ बैसाख,बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ को निर्माणाधीन वडा कार्यालय भवनमा कमसल सामग्रीको प्रयोग गरी गुणस्तरहीन काम गरिएको रहस्य बाहिर आएको छ ।

नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को नगरस्तरीय विनियोजित २५ लाख रुपैयाँको बजेटबाट उपभोक्ता समितिमार्फत भइरहेको उक्त निर्माण कार्यमा गिट्टीको आकार नमिल्ने, बालुवाको मात्रा बढी र सिमेन्टको मात्रा न्यून प्रयोग गरिएको स्थानीय सुनिल कुशवाहाले आरोप लगाएका छन् ।

मापदण्डविपरीत रातिको समयमा हतारहतार छत ढलान गरिएका कारण भवनको एक छेउको भाग नै धसिएको पाइएको छ भने निर्माणस्थलमा प्राविधिक इन्जिनियर अजित साहको उपस्थिति समेत नदेखिएकोले भ्रष्टाचार र अनियमितताको आशंकालाई थप बल पुर्‍याएको छ ।

प्रशासनिक सुशासनको अभाव झल्किएको यस नगरपालिकामा नियमित प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर साह लहेरा लामो समयदेखि बिदामा बसेको र निमित्त प्रमुख विजयशंकर ठाकुरले उक्त निर्माणबारे अनभिज्ञता प्रकट गरेको अवस्थामा वडा अध्यक्ष अजुल्लाह अंसारी समेत सम्पर्कविहीन रहनुले जनप्रतिनिधि र कर्मचारीको गैरजिम्मेवारीपन प्रष्ट पारेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव नवराज अधिकारीलाई सरुवा गरेको तीन हप्ता बितिसक्दा पनि उनी हाजिर नभएको र आन्तरिक शाखा हेरफेरका कारण कर्मचारीबीच बढ्दो द्वन्द्वले गर्दा सिम्रौनगढको प्रशासनिक र विकास निर्माणका कार्यहरू पूर्णतः अस्तव्यस्त बनेका छन् ।

प्रतिक्रिया
शेयर