१४ चैत,पर्सा । पर्साको सिरसिया नाका पछिल्लो समय भारतीय उन्नत जातका दुधालु गाई तस्करीको मुख्य ‘ट्रान्जिट’ बन्न पुगेको छ, जहाँ सुरक्षा निकाय र भन्सार कर्मचारीको प्रत्यक्ष मिलेमतोमा दैनिक लाखौँको राजस्व छली भइरहेको छ।
भारतको उत्तर प्रदेशबाट ल्याइएका उन्नत नश्लका गाईहरूलाई सीमावर्ती भारतीय गाउँ पन्टोकामा जम्मा गर्ने र त्यहाँबाट हरेक दिन बिहान २ देखि ४ बजेको समयमा अवैध रूपमा सिरसिया नाका हुँदै नेपाल भित्र्याउने गरिएको खुलासा भएको छ।
यस अवैध धन्दाको मुख्य योजनाकार भारत रक्सौल पन्टोकाका विकास गुप्ता रहेको र उनले विगत ५ वर्षदेखि यो कार्य निर्बाध रूपमा सञ्चालन गर्दै आएको स्थानीयले बताएका छन्।
तस्करी गरी ल्याइएका यी गाईहरूलाई वीरगञ्जको रानीघाटस्थित एक गाई फर्ममा राख्ने र त्यहीँबाट नक्कली कागजात तयार गरी नेपालका विभिन्न पहाडी जिल्लाहरूमा ‘वैध’ बनाएर पठाउने संगठित जालो सक्रिय रहेको पाइएको छ।
यस तस्करी कार्यलाई सहज बनाउन सीमा प्रहरी चौकी, छोटी भन्सार कार्यालय सिरसिया र पशु क्वारेन्टाइनका कर्मचारीहरूलाई मोटो रकम बुझाउने गरिएको र सोही कारण उनीहरूले तस्करीको दृश्यलाई देख्दादेख्दै पनि अनदेखा गर्ने गरेको आरोप स्थानीयको छ।
तस्कर गुप्ताले जिल्लाका उच्च अधिकारीहरूसँग आफ्नो सेटिङ रहेको र कसैले केही गर्न नसक्ने भन्दै ध्वाँस दिने गरेको समेत बताइएको छ।
दैनिक २ देखि ४ वटासम्म दुधालु गाई भन्सार छलेर भित्रिँदा एकातिर राज्यले ठूलो राजस्व गुमाइरहेको छ भने अर्कोतिर स्वास्थ्य परीक्षण बिना भित्रिने पशुका कारण संक्रामक रोगको जोखिम समेत बढेको छ, जसले गर्दा स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको इमानदारितामाथि नै गम्भीर प्रश्नचिन्ह खडा भएको छ।
