​रवि लामिछानेविरुद्धको रिटमा बहस सकियो, फैसलाको प्रतीक्षा

छानबिन न्यूज
पाठक संख्या 78
1 Min Read
Oplus_16908288

५ चैत,काठमाण्डाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग पत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर रिटमाथिको बहस सकिएसँगै अब सबैको ध्यान फैसलातर्फ मोडिएको छ।

न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र सारंगा सुबेदीको इजलासमा गत चैत १ गतेदेखि निरन्तर चलिरहेको बहस आज खाजा समयअघि निवेदकतर्फको जवाफी बहस सकिएसँगै टुङ्गिएको हो भने अदालत स्रोतका अनुसार सम्भव भएसम्म आजै, नत्र भोलिसम्ममा यसको फैसला आउने सम्भावना रहेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, आयुष बडाल र युवराज पौडेल ‘सफल’ ले दायर गरेको उक्त रिटमा महान्यायाधिवक्ता सविता भण्डारीले गत पुस ३० गते कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूबाट संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी हटाउने गरी गरेको अभियोगपत्र सच्याउने निर्णय बदर गर्न माग गरिएको छ।

यस मुद्दामा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता टीकाराम भट्टराई र दिनेश त्रिपाठी लगायतले बहस गरेका थिए भने लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्त लगायतको टोलीले प्रतिरक्षा गरेको थियो।

प्रतिक्रिया
शेयर